यातायात कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने १५ जना पक्राउ

काठमाडौँ । ललितपुरको यातायात कार्यालयमा आएका सेवाग्राहीहरुलाई नानाथरी भन्दै दुख र हैरानी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका ४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमती कार्यालय परिसर तथा बाहिरबाट १५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिएका छन् ।

शाहका अनुसार उनीहरूले व्यक्तिगत काममा आएका सेवाग्राहीहरूलाई अनावश्यक झन्झटमा पारेको भन्ने गुनासो प्रहरी कार्यालयमा आएको थियो। सो गुनासोपछि प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ पर्नेमा खोटाङ घर भई ललितपुर बागडोल बस्ने १९ वर्षीया इनिमाया राई, उदयपुरकी १९ वर्षीया कुसुम दनुवार राई, कुसुन्ती बस्ने २५ वर्षीया निमा लामा ओखलढुंगा घर भई जावलाखेल बस्ने ३२ वर्षीय अर्जुन विश्वकर्मा, गुल्मीका २१ वर्षीय अरूण मगर र ३७ वर्षीय शंकर कार्की, रामेछाप घर भई बालकुमारी बस्ने २८ वर्षीय गोविन्द पाण्डे, कुसुन्तीका २४ वर्षीय उमेश लामा, रामेछाप घर भई एकान्तकुना बस्ने २६ वर्षीय दिलीप खड्का, धादिङका ३० वर्षीय कृष्ण श्रेष्ठ, सर्लाही घरभएका ३० वर्षीय राजिब पाख्रीन, उदयपुर घरभएका २४ पर्षीय कुमार दनुवार राई र रामेछाप घर भई एकान्तकुना बस्ने २७ वर्षीय प्रभाकर आले मगर सहित १५ जनालाई प्रहरीले पक्राउ परेका छन्।

यसरी यातयात कार्यालय अगाडी अनआवश्यक रुपमा भेला भई कार्यालयमा आउने सेवाग्राईहरुलाई दुख दिनेहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।