निर्वाचनमा कांग्रेससहित चारदलीय गठबन्धन हुने

ठमाडौँ । लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज बेँसीशहरमा बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ । जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति गुरुङले जानकारी दिइएका छन् ।

सभापति गुरुङको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मधु अधिकारी गुरुङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य रहने जिल्ला निर्वाचन संयन्त्र बनाउने निर्णय पनि गरेको जिल्ला सभापति गुरुङको भनाई रहेको छ ।

जिल्लाका आठ पालिकामा गठबन्धन दलहरुको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय गरेको छ । पालिका स्तरीय संयन्त्रमा संयोजक कांग्रेसका सम्बन्धित पालिका सभापति र सदस्यमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरेको कांग्रेस जिल्ला सभापति गुरुङले बताएका छन् ।

उनले भने यस निर्णय बाहेक गठबन्धन दलबीच गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम राख्दै दल भित्रका जिम्मेवार नेता तथा कार्यकर्ताले एक आपसमा गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न सामाजिक सञ्जाललगायतका सञ्चारमध्यमबाट अशिष्ट, गालीगलोजजस्ता गतिविधि नगराउन, आ–आफ्नो दलका नेता तथा कार्यकर्तालाई अपिल गर्ने सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन निर्देशन गर्ने निर्णय गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावना अनुसार उम्मेदवार छनोट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा उम्मेदवारको टुंगो लाग्ने सभापति गुरुङले बताएका छन् । गुरुङले केन्द्रीय निर्णयलाई स्वागत गर्दै गठबन्धनलाई प्रभावकारी बनाएर अगामी निर्वाचन गठबन्धनको पक्षमा सबै राजनीतिक दल लागेको पनि बताएका छन् ।

बेँसीशहरमा आज बसेको बैठकले स्थानीय तहको निर्वाचनको सन्दर्भमा गठबन्धन दलको दलगत बस्तुस्थितिको प्रतिवेदन संयुक्तरुपमा तयार गरी आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने निर्णय गरेको सभापति टकराजले बताइएका छन् ।