निर्वाचनमा राजनीतिक दलले नियम कानुनको पूर्णपालना गर्नुपर्ने

काठमाडौँ । नेपालको संविधानमा, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न र गराउन प्रतिबदद्धता गरीएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो ।

दलका नेता तथा प्रतिनिधिले निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएका बखत अनिवार्यरुपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा दस्ताखत समेत गराएका छन् । निर्वाचन आयुक्त रामप्रसाद थपलियाले निर्वाचनमा सहभागी हुने राजनीतिक दलबाट आचारसंहिता पालनाको सन्देश तल्लो तहसँग जाओस् भन्ने हिसाबले नै प्रतिबद्धताका लागि अनुरोध गरिएको बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीका लागि आयोगले सहजर्कताको साथ काम गरिरहेको जानकारी गराउँदै चुनाबमा आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भ निर्णय गर्नुअघि दलहरुबाट पूर्णपालनाको प्रतिबद्धता होस् भन्ने उद्देश्यका साथ आमन्त्रण गरिएको बताइएका छन् ।

दुई वर्षअघि देखि नै राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारबाला पक्षसँग छलफल र परामर्शका आधारमा आचारसंहिता तयार गरिएको बताउँदै अहिले हुने चुनाबमा सबैको परामर्शमा आयोगले तयार गरेको आचारसंहितामा निर्वाचनको लागी सहभागी राजनीतिक दलबाट पूर्ण पालनाको प्रतिबद्धता होस् भनी कठोर निर्णय गरेको आयुक्त दिनेशकुमार थपलियाको भनाई रहेको छ ।

प्रतिबद्ध पत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा९एकीकृत समाजवादीका महासचिव डा वेदुराम भुसाल, नेकपा एमालेका निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका पार्टी नेता तथा प्रतिनिधिले प्रतिबद्धता पत्रमा दस्तखत गरेका छन् ।