गाउँपालिका अध्यक्षद्धार दुर्गम कुईनेखानी गाउँमा सडक उद्घाटन

काठमाडौँ । स्थानीय निर्वाचन नजिकिदै गर्दा म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका ८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा ६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको छ ।

थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो । उक्त सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख र गाउँपालिकाको ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिएका छन् । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्ने र बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर भएको अध्यक्षले बताए ।

म्याग्दीका स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ छन्त्यालले बताएका छन् । सडक स्तरोन्नतिपछि सो सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिने, उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा सडक विस्तार गर्न १२ लाख ६० हजार सहयोग गरेका गाउँपालिका अध्यक्ष भण्डारी, ४ लाख ५० हजार सहयोग गरेका चित्रमान छन्त्याल र ३ लाख ५० हजार सहयोग गरेका थमबहादुर छन्त्याललाई स्थानीयवासीले सम्मान गरेका गरेका छन् ।