नयाँ वर्षको अवसरमा तीनछाँगे झरनामा टिकटक बनाउने उत्कृष्टले नगद पुरस्कार पाउने

काठमाडौँ । ओखलढुङ्गाको तीनछाँगे झरनाको प्रवर्द्धन गर्न उत्कृष्ट लेख रचना तयार गर्ने र टिकटक बनाउनेलाई नगद पुरस्कार दिइने भएको छ । सुनकोशी ९ को समृद्धि र विकासका लागि ओखलढुङ्गा जिल्लाको चर्चित एवम् रमणीय तीनछाँगे झरनामा पर्यटन प्रवर्द्धन गर्न तीनछाँगेको विषयमा लेख, रचना, गीत, कविता तथा सामाजिक सञ्जाल मार्फत फोटो, भिडियो र टिकटक बनाउने उत्कृष्ट ३ जनालाई नगद सहित पुरस्कृत गरिने भएको हो ।

तयार पारिएको सामाग्री र त्यसको प्रभावका आधारमा पुरस्कार दिइने सुनकोशी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष झनककुमार कार्कीले बताइएका छन् । तीनछाँगेको इतिहास, वर्तमान अवस्था र मनोरम वातावरणमा रम्नुका फाइदाका विषयमा प्रचार सामाग्री समेत तयार पार्न सकिने उनको भनाई रहेको छ ।

नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते वडा कार्यालयको सहयोगमा तीनछाँगे झरना प्रवर्द्धन समितिले तीनछाँगेको प्रचारप्रसारका लागि बृहत् साङ्गीतिक कार्यक्रम सहितको तयारी गरेको प्रवर्द्धन समितिका अध्यक्ष नरबहादुर सुनुवारले बताइएका छन् । कार्यक्रममा स्थानीयको जातीय पहिचान झल्काउने झाँकी, ककनीको अर्ग्यानिक स्वाद सहित स्वादिष्ट परिकारहरू, राष्ट्रिय फुल लाली गुराँस र तीनछाँगे झरनासँग रमाउन सकिने आयोजकले जानकारी गराएको छ ।

स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिले यस क्षेत्रको पर्यटन प्रवर्द्धनको अभियान चलाएका छन् । सुनकोशी ९ को समृद्धि र विकासका लागि स्थानीय पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा पनि जोड दिइएका छन् । पूर्वाधार विकास र प्रचारप्रसार गरिएसँगै तीनछाँगेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको आयोजकले बताएका छन् ।