जगदुल्ला जलविद्युत् आयोजना निर्माणमा शेयर लगानी जुट्दै

काठमाडौँ । प्रदेशस्तरको विद्युत् ऐन निर्माण गरिरहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका २ आयोजनामा शेयर लगानी गर्ने भएपछि स्थानीयवासी खुसी भएका छन् । कर्णाली प्रदेशले पनि विद्युत् विकास ऐन निर्माण कार्य जारी राखेको छ । वर्षे अधिवेशनमा सो ऐनलाई प्रदेशसभामा पेस गर्ने लक्ष्य लिइएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताइएका छन् ।

जनताको जलविद्युत् सञ्चालन र व्यवस्थापन कार्यविधि २०७५ बमोजिम डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेसँगै स्थानीयवासी खुसी भएका छन् ।

स्वदेशी लगानीमा निर्माण थालिएको जगदुल्ला आयोजना १०६ मेगावाट क्षमताकोे रहेको छ । केही दिनअघि मात्र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा उक्त आयोजना निर्माण र प्रदेशको शेयर लगानीका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री सिंहले प्रदेश सरकारलाई बढीभन्दा बढी शेयर दिनुपर्ने तर सीमा राखेर खुम्च्याउन नपाइने भन्दै नियामावली सच्याउन आग्रह समेत गरेका थिए ।

हामी जतिसक्दो बढी शेयर लगानी गर्न चाहन्छौँ, कार्यविधिमा ५ प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न नपाउने भन्ने कार्यविधिसमेत सच्याउन आग्रह गरेका थिए । उनले भने प्रदेश सरकार अधिकतम लगानी गर्ने सोचमा छ । गौरवको आयोजना बनाई त्यसमा बढीभन्दा बढी शेयर लगानी गर्न प्रदेश सरकार तयार रहेको बताए ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले शेयर लगानी बढाउनुपर्ने भन्दै कम्पनीलाई काममा लाग्न आग्रह गरेको थियो । उनको उपस्थितिमा छलफल भएपछि जगदुल्ला जलविद्युत् कम्पनीले शेयर लगानी गर्ने रकम सुनिश्चित गर्न पत्र पठाएलगत्तै बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले पाउने शेयर बराबरको ११ करोड ७१ लाख ५० हजार कम्पनीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

रकम तत्काल व्यवस्थापन गरि शेरबापत भुक्तानी गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई जिम्मेवारीसमेत दिइएको थियो । उक्त कार्यविधि बमोजिम जगदुल्लामा ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा ५ करोड शेयर लगानी गर्ने निर्णय गरिएको मन्त्री सिंहले जानकारी गराएका छन् ।

दुवै आयोजना सञ्चालन गरेका कम्पनीले शेयर खरिदका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्दै आएका थिए । जगदुल्ला हाइड्रोपावर कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम प्रदेश सरकारलाई छुट्याएको ११ करोड ७१ लाख ५०० कित्ता शेयर स्वीकार गरिएको उल्लेख छ । बैठकले शेयर बापतको रकम ११ करोड ७१ लख ५० हजार कम्पनीको बैंक चल्ती खातामा दाखिला गर्ने निर्णय गरेको छ ।

जगदुल्लाले विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई चार लाख ९१ हजार ८००, इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडलाई २३ लाख ४३ हजार, नेपाल विद्युत् प्राद्यिकरणलाई २१ लाख ७८ हजार, स्थानीय तह ९मुड्केचुला र जगदुल्ला० लाई दुई लाख ३४ हजार ३०० र कर्णााली प्रदेशलाई ११ लाख ७१ हजार ५०० शेयर दिने सूचना प्रकाशित गरेको थियो।

कम्पनीले निकालेको सूचनाअनुसार कर्णाली प्रदेशले शेयर लगानी गर्न मन्त्रिपरिषद्बाट स्वीकृति दिएको छ । जगदुल्ला आयोजनामा टेष्ट एडिट र टनेलको कामसमेत सम्पन्न भइसकेको छ । विद्युत् उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययनको काम भइरहेको र टेष्ट अडिट टनेलको प्रगति १०० प्रतिशत सम्पन्न भएपछि आयोजनाले गति लिने सङ्केत देखिएको हो ।