महिला दिवसको अवसरमा केपी शर्मा ओलीद्धारा सङ्घर्षशील योद्धाहरु’ को लोकार्पण

काठमाडौँ । एक सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीबाट आज ‘सङ्घर्षशील योद्धाहरु’ पुस्तकको लोकार्पण गरिएको छ । मोतिदेवी स्मृति केन्द्रको आयोजनामा भएको कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अगुवा शान्ता मानवीलगायत अगुवा र प्रेरणादायी महिलाहरुलाई सम्मानित पनि गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मोतिदेवीको स्मृतिमा स्थापित सो केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र लैङ्गिक समानताको आन्दोलनमा महिलाहरुको सङ्घर्षपूर्ण बलिदान र योगदान रहेको चर्चा गरेका छन् ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवीजस्ता अग्रजका योगदानलाई लिपिबद्ध गरेर नयाँ पुस्तालाई ज्ञान र सूचना दिन उक्त पुस्तक महत्वपूर्ण सामग्री हुने बताइएकी छन् ।