नेपालको कला विश्वकै चिनारी उपराष्ट्रपतिद्धारा ‘राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गरेका छन् । उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताएका छन् ।

पुनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गरेका छन् । राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनमा उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गरेका छन् ।

केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको पुनले उल्लेख गरेका छन् । विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताए । नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उनको भनाइ थियो ।

ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याएका छन् । कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उनले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् रहेको बताए ।

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताएका छन् । समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिएका छन् ।

उक्त समारोहमा उपराष्ट्रपति पुनले १/१ लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरेको छ । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ ।