कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न काठमाडौँ महानगरपालिकाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनकारी गराएको छ ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने बताएका छन् । कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जानकारी गराएको छ ।

पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।