स्याङ्जामा जीप दुर्घटना, एकै गाउँका ५ जनाको मृत्यु, ६ घाइते

काठमाडौँ । स्याङ्जाको वालिङ १२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो ।

जीप दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ १२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका ६ महिनाका छोरा र ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिएका छन् ।

जीपमा सवार रहेका ११ जनामध्ये अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ १२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका प्रहरीले जानकारी गराएको छ ।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट २०० मिटर तल खसेको बताएका छन् । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।