भ्रष्टाचार नरोके मुलुक नै सिध्याइदिने सभामुखको चेतावनी

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनीको उद्घाटन गरेका छन् । भ्रष्टाचार देशको गम्भीर समस्या भएको भन्दै प्रतिनिधिसभाका सभामुख सापकोटाले तत्काल नियन्त्रण नगर्ने हो भने मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् ।

सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताए । आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानको साथमा आफू सधैँ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

आइतबारबाट काठमाडौँमा सुरु भएको भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराएका थिए । साथै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने सभामुख सापकोटाको भनाइ रहेको छ ।

सापकोटाले भने, मैले जानेर चाहिँ दुई पैसा पनि नाजायज ढङ्गले लिने गरेको छैन । भ्रष्टाचार चाहिँ मेरो दृष्टिमा र मलाई लाग्दछ यहाँ यो स्तरकै विद्धानहरू हुनुहुन्छ । त्यो स्तरकै बुद्धिजीवीहरू हुनुहुन्छ । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनाको कुरा मात्रै होइन । भ्रष्टाचार भनेको राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो र यस्तै गरी हामीले खबरदारी गरेनौँ भने यस विरुद्ध निशाना सोझ्याएनौँ भने एक दिन यसले हाम्रो प्यारो मातृभूमिलाई खाइदिने बताएका छन् ।

सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुने गरी कार्टुन बनाउन पनि कार्टुनिस्टहरूलाई आग्रह गरेका छन् । काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको कार्टुन प्रदर्शनी ३ दिनसम्म चल्नेछ ।