शिक्षकले छात्रामाथि दुर्व्यवहार गर्दा कलेजमा आगजनी, स्थिति नियन्त्रणमा लिन प्रहरीद्धारा दुई राउण्ड हवाइफायर

काठमाडौँ । नवलपरासीको गैंडाकोटका जनक कलेजमा एक शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएर दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरूले कलेजमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइफायर गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

छात्रालाई ४ दिनअघि शिक्षकले अश्लिल भिडियो देखाएर हिंसा गरेको भनी विद्यार्थीहरु आन्दोलमा उत्रिएका छन् । छात्रालाई भिडियो देखाउने शिक्षकलाई कडा कारबाही गर्नुपर्ने भन्दै विद्याथीहरूको माग रहेको छ । शिक्षकले कलेजको ल्याबमा छात्रालाई अश्लिल भिडियो देखाउँदै दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ ।

घटना घटेको ४ दिन बितिसक्दा पनि कारबाही प्रक्रिया सुरु नभएपछि विद्यार्थीहरुले आक्रोशित भएर आन्दोन गरेको बताएका छन् । आरोपित शिक्षकमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनीहरुले कलेज परिसरमा तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलमा आगजनी समेत गरेको प्रहरीले बताएका छन् ।

विद्यालयका प्राचार्य चुडामणी कँडेलसँग घटनाबारे बुझ्न खोज्दा उनी सम्पर्कमा आउन नचाहेको हुदा विद्यालयमा तोडफोड भएको र हिंसा भड्काउने काम भएकाले स्थिती नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख प्रज्वल मर्हजनले बताएका छन् । उनले स्थिती भड्किन नदिन त्यहाँ सुरक्षाकर्मी बढाइएको बताए ।

विद्यालय प्रशासनले ओरोपित शिक्षकलाई कारबाहीका लागि बेवास्ता गरेर उल्टै संरक्षण दिएको विद्यार्थीहरूको भनाइ रहेको छ । घटनामा केही विद्यार्थीहरु र प्रहरी समेत घाइते भएका छन् ।