गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान जेठ २ गते बुद्धजयन्तीका दिनबाट

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा रुपन्देही मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीका दिनबाट हुने प्राधिकरणले जानकारी गराएको छ ।

आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तर विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिएका छन् । उनले भने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो ।

नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उनले उल्लेख गरेका छन् । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका बताएका छन् । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिएका छन् ।

जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारीले बताएका छन् ।