आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार बन्नुपर्छ

काठमाडौँ । बागलुङ जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुका बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायतका विषयमा छलफल गर्न थालेका छन् ।

राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताएका छन् । आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो । निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्नेमा न्यौपानेले जोड दिएका छन् । हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने विषय नरहेको समेत बताएका छन् ।

बुधबार नै पत्रकारसँग छलफल गर्दै न्यौपानेले सही सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरेका थिए । गलत सूचनाका कारण भय र द्वन्द्वको वातावरण सिर्जना हुनसक्ने भन्दै उनले निर्वाचनमा सफल बनाउने जिम्मेवारी सबैको भएको बताएका छन् ।