उपकार लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा २ करोड ३६ लाख २५ हजार मूल्य बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले बताएका छन् । बाँडफाँडमा बाँकी ६ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले ६ जनालाई बाँडिएकोे बताएका छन् ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको शुन्ना दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए । बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट मेरो शेयरमार्फत हेर्न सकिने कम्पनीले जानकारी दिइएको छ ।