सुनिल प्रजापति र रजनी जोशीको भक्तपुर नगरपालिकामा पुन उम्मेदवारी

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति र रजनी जोशीले भक्तपुर नगरपालिकामा फेरि उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरमा प्रजापति र उपमेयरमा जोशी निर्वाचित भएका थिए । सोमबार भक्तपुर नगरको दोस्रो कार्यकालका लागि मेयरमा नेमकिपाबाट प्रजापति र उपमेयरमा जोशीले उम्मेदवारी दर्ता गराएका हुन्।

सो नगरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ। काँग्रेसबाट मेयरमा रामप्रसाद कासुलाले उम्मेदवारी दर्ता गराएका छन्। उनी प्रजापतिसँग दोस्रो पटक निर्वाचन भिड्न लागेका हुन्। उपमेयरमा एकीकृत समाजवादीबाट ओमचरण आमात्यले उम्मेदवारी दर्ता गराएका छन्। नेमकिपाले भने कसैसँग चुनावी तालमेल गरेको छैन ।

यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट मेयरमा रवीन्द्र लाछिमस्यू र उपमेयरमा रञ्जना खर्बुजा तथा माओवादीबाट मेयरमा तुलसीभक्त सुवाल र उपमेयरमा इन्द्रमाया सुवालले उम्मेदवारी दर्ता गराएका हुन्।