श्रमिक दिवस भनेको के हो ? महँगी बढ्यो तर ज्याला बढेन !

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसमाको दिन श्रमिकहरुले महँगी बढ्यो तर ज्याला नबढेको गुनासो गरेका छन् । पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी नभएको बताए । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद भएना । उनी आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिरहेका छन् ।

उनी १० वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएको बताए । उनले करिब ३ दशक बिताएको बताए । श्रमिक दिवसको दिन पनि उनले आराम गर्ने समय नपाएको बताए । उनले भने , श्रमिक दिवस भनेको के हो ? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उनीले मजदुरी गरेबापत दैनिक ६०० ज्याला बुझेको बताए । । त्यसैबाट चार छोराछोरी र श्रीमतीको पालनपोषण गर्नुपर्ने बाध्यता भएको सुनाए ।

त्यस्तै २५ वर्षीय राजु माझी मजदुरीमै व्यस्त छन् । बिहानदेखि साँझसम्म सडक कालोपत्रे गर्ने काममा लागेका छन् । आइतबार परेको मजदुर दिवसबारे आफू पनि बेखबर रहेको उनले बताए । उनले भने, श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश छैन, घरमा छोराछोरी, श्रीमती पाल्नै प¥यो, आफ्नो दुःख आफैसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँ–ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइने बताए ।

सरकारले श्रमिक मजदुरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा श्रमिकहरुले गुनासो गरेका छन् । चुनाव आएसँगै नेता, कार्यकर्ताले उनलाई धेरै आश्वासन पनि देखाए । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदुरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उनले बताएका छन् । हामीजस्ता तल्ला स्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैँ झुट्टा आश्वासनमात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महँगी बढिरहेको छ, सोअनुसार पारिश्रमिक वृद्धि हुनुप¥यो, निरन्तर काम पाए भयो ।

देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू भने श्रममै रहन्छन् र बेखबर हुने गर्दछन् । लाखौँ श्रमिक अनौपचारिक क्षेत्रमा कार्यरत छन् ।