नेप्सेमा आज पनि दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले उकालो लागेर ४३९.४७ अङ्कले उकालो लागेको छ ।

कूल २२२ कम्पनीको ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रु एक अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ भने ९ उपसमूहको शेयर ओरालो लागेको छ । होटल एवं पर्यटन २५.८५, विकास बैंक २०.९१, जीवन बीमा ८२.१२ र लगानी ०.०७ अङ्कले ओरालो लागेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने उल्लेख्य मात्रामा वृद्धि भएन ।

बैंकिङ १४.७६, व्यापार ३५.२२, जलविद्युत् १२.५३, वित्त १.६६, निर्जीवन बीमा ५७.०३, उत्पादन २७.१९, अन्य ५.१९, लघुवित्त ६०.७५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३२ खर्ब २७ अर्ब ७६ करोड १४ लाख ७१ हजार ५०६ बराबर पुगेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ८३ लाख ५३ हजार ८९९ बराबरको कारोबार भयो ।

एनआइसी एशिया बैंक ५ करोड ४ लाख ८९ हजार ५९१, हिमालयन डिस्टिलरी ४ करोड ९५ लाख ८५ हजार ९४१, शिवम् सिमेन्ट ३ करोड ८६ लाख ७१ हजार ९९२ र नबिल बैंक ३ करोड ६९ लाख ५ हजार ६८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

हिमालयन ऊर्जा विकास कम्पनी ३.७८, स्वरोजगार लघुवित्त विकास बैंक ३.२४, गुह्यश्वरी मर्चेन्ट बैंक ३.०४, समता घरेलु लघुवित्त २.९९ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई २.८३ प्रतिशतले ओरालो लाग्यो ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त ७.७७, उन्नती सहकार्य लघुवित्त ६.२७, सानिमा लार्ज क्याप ५.७७ र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले कमाएका छन् ।