श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनाम

काठमाडौँ । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनाम दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ ।

राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कट समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो । श्रीलङ्काको डेली मिररको अनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ । सरकार र सांसदलाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी रहेको छ । विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

यसैबीच श्रीलङ्कामा भएको हिंसामा सत्तारुढ दलका १ सांसदसहित २ जनाको मृत्यु भएको छ । साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले जानकारी गराएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको छ । घाइतेमध्ये १ जनाको पछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।