सीता जयन्तीका अवसरमा राष्ट्रपति भण्डारीद्धारा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिइएकी हुन् । प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने चलन रहेको छ ।

वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ । सनातन संस्कृतिमा नारी शक्तिको महत्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नुपर्ने शुभकाना सन्देशमा भनिएको छ ।

आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु । जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ । एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ ।

सीता जयन्तीको पावन दिवसले लैङ्गिक असमानतालगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीले लिइएकी छन् ।