२९ मतदान केन्द्र अतिसंवेदनशील, मतदाता पुरुषभन्दा महिला धेरै

काठमाडौँ । रोल्पामा स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।

रोल्पा जिल्लामा ८१ मतदानस्थल र १७३ मतदान केन्द्र रहेका छन् । तीमध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको सापकोटाले बताए । निर्वाचनमा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिएका छन् ।

उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ देखि नै सुरक्षा निकाय परिचालन भएको जानकारी दिएका छन् । जिल्लामा पछिल्ला दिनमा राजनीतिक दलको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण सुरक्षा चुनौती भने थपिएकोे बताएको छ । ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी गराएको छ । पुरुष मतदाता भन्दा १ हजार ५७६ महिला मतदाता बढी रहेका छन् ।

चुनावी प्रचार–प्रसारमा समेत महिलाको सङ्ख्या बढी देखिएका कारण मतदानमा समेत यसको प्रभाव पर्न सक्ने छ । रोल्पामा स्वतन्त्रसहित १ हजार १३० उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाका केही मतदान केन्द्रलाई मात्र संवेदनशील भनिएकामा पछिल्ला दिनमा राजनीतिक दलमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धाका कारण जिल्लाका सबै मतदान केन्द्र संवेदनशील रहेको जानकारी छ ।