हत्या भएका अनिल परियारको अन्त्येष्टि

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका ७ कृष्णपुरमा स्थानीय निर्वाचन नजिकिदै गर्दा धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ। स्थानीय प्रशासन र पीडित पक्षबिच सहमति भएपछि मङ्गलवार साँझ परियारको अन्त्येष्टि गरिएको हो।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको बताए ।

यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन्। परियारको बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो। श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताएका छन् । काँग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले सहिद घोषणाका लागि पार्टीको केन्द्रमा लेखी पठाउने बताएका छन् ।

हत्यापछि काँग्रेस र तिनका भातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका थिए। स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेको छ । हत्यामा संलग्न भएकाहरूको पहिचान भएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ।