वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने

काठमाडौँ । वाणिज्य बैंकहरूले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठ महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार निर्णय गरिसकेको छ । यही निर्णयका आधारमा सबै सदस्य बैंकहरुलाई जानकारी पठाइने संघले जानकारी गराएको छ ।

‘बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन । यसले ब्याजदरमा अस्थिरता मात्र बढाउँछ । यसकारण जेठका लागि पनि वैशाखकै बराबर ब्याजदर प्रकाशित गर्ने सहमति भएको बताए । गत फागुनमा निक्षेपको ब्याजदर बढाएका वाणिज्य बैंकहरुले चैत र वैशाखमा पनि स्थिर राखेको थियो ।

जेठ महिनाका लागि पनि वैशाखकै ब्याजदर कायम राख्ने भएका छन् । वाणिज्य बैंकहरुले हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११।०३ प्रतिशत तोकेका छन् । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०।९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०।०३ प्रतिशत र साधारण बचतको ६।०३ प्रतिशत कायम गरेका थिए ।

बैंकहरुले सहमति अनुसार नै ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने भएको छ । वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरिसके पनि विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले बुधबारसम्म निर्णय गरिसकेका छैनन् ।