सभागृहको मतदान स्थलको चमेनागृहमा गुणस्तरहीन खाना

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणता स्थल राष्ट्रिय सभागृहमा सञ्चालन गरिएको चमेना गृहको खाना गुणस्तरहीन भेटिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सञ्चालन गर्न दिएको सो चमेनागृहमा राखिएका खाना गुणस्तरहीन रहेको मतगणना उपभोक्ताहरुको गुनासो बढेको छ ।

काठमाडौंका ३२ वटै वडाहरुको मतगणना भईरहेको सो स्थानमा खाना, खाजा तथा पेय पदार्थ विक्री वितरण पनि चर्को मूल्यमा गरिएको छ । राष्ट्रिय सभागृहले भित्रको चौरमा निःशुल्क रुपमा स्थान उपलब्ध स्थानमा पाल टाँगेर सञ्चालन गरिएको चमेना गृहले चर्को मूल्यमा गुणस्तरहीन खाना खाना खुल्लम खुल्ला विक्री वितरण गर्दा पनि सरोकारवाला निकायहरु भने मौन देखिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नंं ३२ को मतगणनाका लागि आएका प्रतिनिधिले शनिबार खाना खाए पश्चात आफ्नो स्वास्थ्यमा समस्या आएको बताए । राष्ट्रिय सभागृहमा नै कार्यरत कर्मचारीले पनि सो चमेनागृहको खाजा खाएपछि आफुलाई वान्ता नै भएको इकालोपाटी सम्वाददातासँग बताएका छन् ।

महानगरको मतगणता स्थलमा सञ्चारकर्मीहरुका लागि सूचना केन्द्रमा अधिकांश सञ्चार माध्यमका प्रतिनिधि भएपनि सवैको ध्यान मेयरका उम्मेदावर बालेन शाह तर्फ मात्र भएकाले चर्को मूल्यमा गुणस्तरहीन खाना खाना तथा पेय पदार्थ विक्री गरिरहेको चमेनागृहको बारेमा खासै चासो भने राखेका छैननर ।

भाडा तिर्नु नपर्ने गरी मतगणना अवधिभरका लागि राखिएको सो चमेना गृहलेसँगै रहेको महानगरको शौचालयमा प्रयोग हुने बोरिङको पानी प्रयोग गर्ने गरेको चमेनागृहका काम गर्ने एक कर्मचारीले स्वीकार गरे । उनले नाम नलेख्ने शर्तमा जार बाहिर देखाएपनि पानी भने शौचालयकै प्रयोग गर्ने गरेको बताए ।

चमेनागृहको कमाउ धन्दाका लागि गरेको लापरवाही र गुणस्तरहीन खाना खानाको चर्को मूल्यलाई पक्कै पनि सरोकारवाला निकायले परिक्षण गर्नु पर्ने देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्रवक्ता मोहन कृष्ण श्रेष्ठले आफूहरुलाई पनि सो गुनासो आएकाले गुणस्तरका विषयमा सुक्ष्म अध्ययन गरिरहेका र मूल्यका बारेमा बाणिज्य विभागले हेर्ने बताए । उनले खाद्य परिक्षण गर्दा गुणस्तरहीन देखिए कार्वाहीका लागि सिफारिस गरिने बताए ।