मतगणनाका क्रममा मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आयोगको आग्रह

काठमाडौँ । शुक्रबार देशभर सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन निर्वाचन आयोगले आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनाकार्यमा ढिलाई गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जानकारी गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गरेका छन् । मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जाकारी दिएको छ ।

नेपाल सरकार र प्रदेश सरकारका कर्मचारीलाई उपलब्ध भएसम्म मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने र स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।