लुम्बिनीमा एकै पटक पाँच हजारले ध्यान गर्न सक्ने हल निर्माण गरेको ओलीको दावी

काठमाडौँ । २५ सय ६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुभकामना सन्देश दिइएका छन् । ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् ।

बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गरेका छन् । हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएका छौँ । ओलीले सन्देशमा भनेका छन् । फलस्वरुप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौँ ।

लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन एमाले नेतृत्वको सरकारले सार्थक प्रयास गरेको उल्लेख गर्दै उनले लुम्बिनीमा ५ हजार ध्यानीहरुले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल आफूहरुले निर्माण गरेको दावी समेत गरेका छन् ।

अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हुनुका साथै बुद्ध दर्शनको उद्गमस्थल रहेको बताए । उनले सयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जानकारीसमेत गराएका छन् ।