उपत्यकामा आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो

काठमाडौँ । वैशाख ३० मा देशभर सम्पन्न भएको स्थानीय तह निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजारका थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले आइतबार बिहानैदेखि तरकारीको भाउ सस्तो भएको जानकारी दिएका छन् । उनले भने शनिबार तरकारी कम आएकाले महँगो थियो तर आइतबारदेखि तरकारी आउने क्रम बढेकाले मूल्य सामान्य भइसकेको छ ।

उनका अनुसार कालीमाटी तरकारी बजारमा शनिबार रातिदेखि बजारमा पर्याप्त तरकारी भित्रिएको छ । बजारमा तरकारी छ बरु किन्ने ग्राहक नभएको व्यापारीले बताएका छन् । शनिबार थोकमै प्रतिकेजी १ सयदेखि ११० रुपियाँमा बिक्री भएको गोलभेँडा आइतबार दिउँसोदेखि ७० रुपियाँमा झरेकोे थोक व्यापारी आचार्यले बताएका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार बजारमा ४२५ मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । मतदानका दिन शुुक्रबार बजारमा तरकारी आएन भने शनिबार ३१५ मेट्रिक टन तरकारी भित्रिएको समितिले जानकारी दिएको छ ।