महानगरपालिकाको प्रमुखमा बालेन्द्र र उपप्रमुखमा डङ्गोलको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता कायमै रहेको छ । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले ९ हजार ४९९ मत ल्याएर आफ्नो अग्रता कायलाई अगाडी बढाइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले ९ हजार ८१५ मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन् ।

महानगरपालिकाम प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले भने ५ हजार १९६ र नेपाली कांग्रेसका सिर्जना सिंहले ४ हजार ५४० मत प्राप्त गर्न सफल भएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ७८४ मत प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ । जसमा ८८२ मत बदर भएको छ । कामपामा कूल मतदाता ३ लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ रहेको छ ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी आयोगले जानकारी दिएको छ ।