महानगरको मतगणना अन्तिम चरणमा, प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मतगणना कार्य जारी नै छ । हालसम्मा भएको मतगणनाको विवरण अनुसार पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म १ लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३ हजार ९७९ मतान्तरसहित अग्रता हासिल गरेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि बढेका छन्, भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याइ रहेका छन् ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने सात वडामा एमाले विजयी भएको छ । महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी रहेको छ ।