टिकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषिमा १० करोड खर्च हुने

काठमाडौँ । कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना हुने भएको छ । कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८ र ०७९ मा करिब १० करोड खर्च गर्ने भएको छ । आयोजनामा २७ करोड बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जानकारी दिएको छ ।

अहिलेसम्म ३ करोड खर्च भएको छ, भने बिल भुक्तानी दिन बाँकी अन्य कार्यक्रमका लागि ७ करोड थप खर्च हुने अनुमान छ । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले भने किसानका नाममा आएको रकम हो, व्यवस्थित गरेर खर्च गर्न खोज्दा केही ढिलाइ भएको हो ।

आफू आएपछि किसानकै खातामा रकम भुक्तानी दिने परम्पराको थालनी गरेको भन्दै जोशीले किसानले बिल भर्पाई मिलाएर ल्याउँदा ढिलो हुने गरेको बताए । जोशी टीकापुरमा २०७८ साल कात्तिक महिनामा आउँदा माघ अन्तिमसम्म बजेट रोक्का थियो । “शीर्षकअनुसार बजेट बढी खर्च भएका कारण माघ महिनाको अन्तिमसम्म बजेट रोक्का थियो यसले गर्दामा पनि बजेट खर्चमा कमी भएको बताएका छन् ।

सिँचाइ आयोजनामार्फत कृषि एकाइले बीउ, मल, विषादीमा अनुदान दिने गरेको छ भने कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउ खेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ ।

विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत १२ लाख ४७ हजार अमेरिकी डलर सहयोग छुटाइएकोमा सबै खर्च भएर करिब ८४ हजार अमेरिकी डलर मात्र बजेट बाँकी रहेको जनाइएको छ । आयोजनामार्फत बर्सेनि दुई हजार ५०० देखि तीन हजार किसानले लाभ लिएको देखिए पनि दोहेरिँदा तेहोरिँदा करिब एक हजार किसानले मात्र लाभ लिएको पाइन्छ ।

आयोजनाबाट कतिपयले पटक पटक लाभ लिने गरेको कार्यालयका कर्मचारीको भनाइ रहेको छ । मूल कुला समितिले १० प्रतिशत रकम अर्थात् रु ७५ लाख सङ्कलन गरेको छ भने १५ प्रतिशत रकम टीकापुर नगरपालिकाले बेहोर्ने सहमति भएको जानकारी छ ।