कुलमानलाई हटाउन खाेजेका उर्जामन्त्री खड्का आफैँ परे छानबिनमा

काठमाडौँ । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जसरी पनि हटाउन लागी परेका उर्जामन्त्री दीपक खड्का आफैँ अर्बौँको ठेक्का मिलोमतो गरेको अभियोगमा छानबिनमा परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का नै रद्द भएको छ।

सेटिङमा निकालिएको ठेक्कामा ऊर्जामन्त्री खड्काको समेत मिलोमतो भएको तथ्य बाहिरिएपछि कम्पनीले ठेक्का नै रद्द गरेको हो। ऊर्जामन्त्री खड्काको अग्रसरतामा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीलाई ठेक्का दिलाउने गरी सेटिङ गरेको आरोप लागेको छ।गत जेठ २० गते आह्वान भएको १६ अर्बको ठेक्कामा ६ वटा कम्पनीले आवेदन दिएका थिए ।

मन्त्री खड्काले आफूलाई दुई प्रतिशत र प्रस्पिर्धामा सहभागी बाँकी चारवटा कम्पनीलाई एकरएक प्रतिशत कमिसन बापतको चेक दिएर ठेक्का सेटिङ गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि प्राविधिक कारण देखाएर हतारहतार ठेक्का रद्द गरिएको बुझिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्को बचाउ गर्दै प्राविधिक कारण भएको दाबी गरिएको छ।जदुल्ला कम्पनीमा ऊर्जामन्त्री प्रत्यक्ष रुपमा संलग्न नहुने भएकाले उनलाई जाडेर आएको समाचार तथ्यहीन भएको कार्यकारी सापकोटाको भनाइ छ।आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो।

घिसिङलाई नौबुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउन खाेजिदैछ।

नौबुँदे स्पष्टीकरणमा के छ?

  • स्पष्टीकरण पत्रको पहिलो बुँदामा उनीसँग भएको कार्यसम्पादन सम्झौताबारे स्मरण गराइएको छ।
  • दोस्रो बुँदामा ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता भएको गुनासो लगायतका १५ बुँदे विवरणहरू तोकिएको समयभित्र उपलब्ध नगराएको र अधुरो विवरण उपलब्ध गराएको आरोप छ।
  • तेस्रोमा यसअघि सोधिएको छबुँदे स्पष्टीकरणमा “सत्यतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जबाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढङ्गको असन्तुलित जबाफ र असम्बन्धित कागजात” दिएको दाबी छ।
  • चौथोमा डेडिकेटेड ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न मन्त्रालयले गठन गरेको प्राविधिक जाँच समितिलाई आवश्यक सहयोग उपलब्ध गराउने अजेन्डामा फरक मत राखेको उल्लेख छ।
  • पाँचौँमा प्रत्येक वर्ष भदौभित्र अघिल्लो आर्थिक वर्षको कार्यसम्पादन पुनरवलोकन प्रयोजनका लागि विद्युत् प्राधिकरण बोर्ड समझ कार्यसम्पादन मूल्याङ्कनको जम्मा पेस गर्नुपर्नेमा ११२ दिन भइसक्दा पनि आफूले उपलब्ध गराउनुपर्ने विवरण पेस नगरी सम्झौताको पालना नगरेको आरोप लगाइएको छ।
  • छैटौँ बुँदामा कार्यसम्पादन विवरणबारे मूल्याङ्कनका लागि मन्त्रालयमा रहेको समितिले मूल्याङ्कन गर्ने व्यवस्थाबारे स्मरण गराइएको छ।
  • सातौँमा कार्यसम्पादन सम्झौतामा तेस्रो वर्षको कार्यसम्पादन मूल्याङ्कनमा घिसिङले ५० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थामा सम्झौता रद्द गरी उनलाई पदबाट हटाउन सिफारिस गर्न सकिने व्यवस्था स्मरण गराउँदै मन्त्रालयले माग गरेका कार्यसम्पादन विवरण पेस नगरी गम्भीर लापरबाही गरेको आरोप लगाइएको छ।
  • आठौँ बुँदामा मन्त्रालयले घिसिङमाथि असहयोगी भूमिका खेलेको र मन्त्रालयको निर्देशन समेतलाई अवज्ञा गरेको आरोप पनि लगाएको छ।
  • अन्तिम बुँदामा मन्त्रालयले कुलमान घिसिङ आफैँले आफ्नो कार्यसम्पादन मूल्याङ्कनको विवरण पेस नगरेको स्वीकारेको दाबी गर्दै उनको कार्यसम्पादन मूल्याङ्कन नै गर्न नसकिने अवस्था सिर्जना भएको उल्लेख गरेको छ।

“तपाईँको नियुक्ति किन अन्त्य नगर्ने? यो पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआएमा कानुन बमोजिम तपाईँउपर थप प्रक्रिया अगाडि बढाइने बेहोरा यस मन्त्रालयको मिति २०८१/०९/२२ को निर्णयअनुसार जानकारी गराइन्छ,” प्राप्त स्पष्टीकरण पत्रमा भनिएको छ।