राष्ट्रियसभा सदस्यद्वारा सदन र सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेकपा एमालेका भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी ब्योहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताए ।

नेकपामाओवादी केन्द्रका मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताए । उनले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका जयन्तीदेवी राईले दिन प्रतिदिन महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षाको माग गरेका छन्
। बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानुन परिमार्जन गर्नुपर्ने उनको माग रहेको थियो । जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले बलात्कारीलाई आजीवन सजाय हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी राष्ट्रियसभाका स्वतन्त्र सदस्य डा खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हदम्याद टराउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका गोपालकुमार बस्नेतले राज्यले स्वच्छ र पारदर्शी कार्यशैली अपनाउनुपर्ने बताएका छन् ।

एमालेका भगवती न्यौपानेले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । माओवादी केन्द्रका जगप्रसाद शर्माले मूल्यवृद्धि, महँगी र भ्रष्टाचार अन्त्यको माग समेत गरेका छन् । कांग्रेसका सदस्य नारायणदत्त मिश्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।