बलात्कार मुद्दामा हदम्याद खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । नेकपामाओवादी केन्द्र निकट अखिलक्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गरेका छन् । ८ वर्ष अघि एक युवतीममाथी भएको बलात्कारको घटनालाई लिएर आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।

एक सुन्दरी प्रतियोगितको आयोजकले एक युवतीलाई लगातार यौनहिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता जघन्य घटनामा हदम्याद हटाउनुपर्ने माग क्रान्तिकारीले राखेको हो ।

कानुनमा संशोधन गरेर हदम्याद हटाउन माग गर्दै मुलुकी ऐन, २०२० मा भएको व्यवस्था हेर्ने हो भने जबरजस्तीकरणीको उजुरी गर्न ३५ दिनको मात्र म्याद दिइएको ज्ञापनपत्रमा उल्लेख छ । नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैंगिक असमानता हटाउन ल्याइएको एनले जबरजस्ती करणी उजुरीको हदम्याद एक वर्ष बनाइएको छ ।

क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार जबरजस्ती करणी जस्तो संवेदनशील, जघन्य महिला विरुद्धको अपराधमा संकुचित हदम्यादको कारण पीडितले न्यायबाट वञ्चित हुनुपरेको र पीडकको मनोबल वृद्धि हुने अवस्था देखिँदा तुरुन्त हदम्याद खारेजीका लागि कानुन संशोधन गर्न जोडदाररुपमा माग गरिएको छ । क्रान्तिकारीले यो तथ्यका आधारमा कानुन आवश्यकता अनुसार संशोधन हुँदै जान्छ भन्ने पुष्टि गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

बलात्कार घटनासँग सम्बन्धित पीडित तथा पीडित परिवारमा पर्न सक्ने दबाब र प्रभावलाई मध्यनजर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गरिएको अध्यक्ष सिंहले बताएका छन् ।