युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना पक्राउ

काठमाडौँ । पर्सा, ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा ठेगाना भएका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका ३२ रामबन ठेगाना भएका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएकोमा वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका ३ महाराजगंजबाट पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।