सामाजिक सञ्जालमार्फत २८ लाख ठगेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका ८ घर भएका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले सोर्‍हखुट्टेबाट पक्राउ गरेको हो ।

श्रेष्ठले सामाजिक​ सञ्जाल हवाट्स एप, इमो, बोटिम र भाइबरको दुरुपयोग गरेर आफु कम्बोडियाको क्यासिनोमा कार्यरत रहेको भनी ठगी गरेका हुन् । अमेरिकाबाट सञ्चालित लटरीमार्फत ६ लाख २७ हजार युरो डलर परेको भनेर सो रकम पाउन ‘प्रोसेसिङ’ रकम चाहिने भनेर उनले आफ्नो खातामा सर्वसाधारणलाई रकम जम्मा गर्न लगाएका थिए ।

श्रेष्ठको ५ वटा बैंक खातामा २७ लाख ७९ हजार जम्मा भएको भेटिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिएको छ ।