नीति तथा कार्यक्र माथिको छलफल जारी, भ्रष्टाचारसँग जोडिएका मुद्दा छानबिन गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको छ ।

आजको बैठकमा राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नीति तथा कार्यक्रम सैद्धान्तिकरुपमा लामो रहेको उल्लेख गर्दै परिमार्जनको आवश्यकता औँल्याएको छ । उनले नीति तथा कार्यक्रमले यसअघिका सरकारका राम्रा कामको निरन्तरता दिएकामा प्रशंसनीय गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदस्य कृष्णप्रसाद पौडेलले नीति कार्यक्रममा समयमै पुँजीगत खर्च गर्ने गरी ऐन बनाउने , गरिबीको रेखामुनि रहेका नागरिकलाई परिचयपत्र प्रदान गरी जीविकोपार्जन स्तरोन्नति गर्ने, पुँजीबजार आर्कषण बढाउने, बीमा रकमलाई स्वरोजगार र उत्पादनसँग जोड्ने लगायतका कार्यक्रम निकै राम्रा रहेको भन्दै कृषिमा आपूर्तिको ‘चेन’ बनाउन सुझावसमेत दिएका छन् ।

सदस्य दिलकुमारी रावल थापाले नीति तथा कार्यक्रमले जनतामा खास उत्साह ल्याउन नसकेको आरोप लगाउनुभयो । पुँजीगत खर्च किन हुन सकेन भन्दै उहाँले भ्रष्टाचारसँग जोडिएका सबै मुद्दामाथिको छानबिन अघि बढाउन सरकारसँग मागसमेत गरेका छन् ।