नवनिर्वाचित मेयर साहसँग सहकार्य गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउ नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न पार्टी तयार रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको नेपालले जारी गरेको सन्देशमा उल्लेख गरेको छ ।

नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।