जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : काममा माओवादी पहिचान देखियोस्

काठमाडौँ । हालै स्थानीय तहमा नवनिर्वाचित भएका जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । उनले निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताएका छन् ।

हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ, उनले भने अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ ।

माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उनले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेको समेत बताएका छन् । माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए ।

स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार, स्थानीय तहमा स्वास्थ्य र शिक्षा, सङ्घीयता र स्थानीय सरकार, स्थानीय तह र सामाजिक न्याय, स्थानीय सरकार र सुशासन, स्थानीय तहको नीति, योजना र कार्यक्रम, स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद, स्थानीय तहको लेखा प्रणाली, स्थानीय तहको बजेट निर्माण र स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जानकारी गराएको छ ।