लामिछाने र घिमिरे विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा

काठमाडौँ । नेपाल नागरिक समाज सिस नेपाल सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार गढी, लेखगाउँ, कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल बनाई रकम भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल, सुर्खेतले ७३।१२।२७ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रबर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा तत्कालीन अध्यक्ष र सामाजिक परिचालक घिमिरेको मिलेमतोमा नक्कली बिल भरपाई रकम खाई मास्ने उद्देश्यले सार्वजनिक सम्पत्तिमा हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १३ लाख ३७ हजार २० रुपैयाँ कायम गरी बिगो असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।