कोरोना भाइरसबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु

काठमाडौँ । अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको उल्लेख छ ।

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ सङ्क्रमितको सङ्ख्या घटेको छ भने मृतकको सङ्ख्या बढेको छ । अघिल्लो हप्ता ५१ हजार ७ सय ७८ जना नयाँ सङ्क्रमित हुँदा ६४ जनाको मृत्यु भएको थियो । र्जेन्टिनामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९२ लाख ७६ हजार ६ सय १८ पुगेको मन्त्रालयले जानकारी गराएको छ । त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या १ लाख २८ हजार ९ सय ७३ पुगेको छ ।

कोरोना भाइरसका कारण बिरामी भइ ३ सय ४४ जना अहिले पनि अस्पतालमै भर्ना भएका छन् । उनीहरूलाई अति सघन कक्षमा राखेर उपचार गराइएको छ । गत सन् २०२० को डिसेम्बरदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइएको थियो ।