दुइ महिनादेखि वन्धक बनाएर सामुहिक बलात्कार

काठमाडौँ । चितवनमा दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारीगराएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई दुइ महिनादेखि बलात्कार गर्दै आइरहेका प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको छ ।

काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आएकी थिइन । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गरेकी छन् ।

दुई महिना भन्दा बढी समयसम्म बन्धक बनाई बलात्कार गरेपछि युवतीमा स्वास्थ्य समस्या देखिएर घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको युवतीको भाउजुले बताइन ।

महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि वुधबार घलाउनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।