पहिरोले घोडाबाँधे गलकोट सडक खण्ड अवरुद्ध, स्थानीय रातभर जागराम

काठमाडौँ । वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल मध्यपहाडी लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ । पहिरो आएको कारण पैदलयात्रा गर्नसमेत कठिन भएको स्थानीयवासीले बताएका छन् । बाढीको त्रासले गर्दा रातभर जागराम बसेको स्थानीयले बताएका छन् ।

बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङबाट काठमाडौँ, पोखरालगायतका सहरमा जाने लामो दूरीका सवारीसाधन रोकिएका छन् । गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारीसाधन गलकोटमै रोकिएका छ ।

काठमाडौँ पोखरालगायतका ठाउँबाट रुकुमपूर्वका लागि छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ । बाढीपहिराले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले जानकारी गराएको छ ।

त्यस्तै बाढी र पहिराका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ रेहेको छ ।