झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा उजुरी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको भन्दै १० भन्दा बढीमा उजुरी दर्ता भएको छ ।

परिषद्को आचारसहिंता अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसंहिता उल्लघङ्न गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताएकी छन् । उनका अनुसार उजुरी परेकामध्ये धेरैजसो झुटा विवरण राखेर लेख प्रकाशित भएका छन् ।

हुदै नभएको परीक्षण प्रयोगशालामा छ, भनेर, अभिभावकको अनुमतिबिना बालबालिकाको परीक्षण, एउटा उद्देश्यका लागि भनेर अनुमति लिए पनि अर्कै विषयमा अनुसन्धान गर्नेजस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको प्रमुख घिमिरेको भनाइ छ ।

परिषद्लाई प्राप्त भएका ती उजुरीमाथि छानबिन भइरहेको उनीले जानकारी दिएकी छन् । घिमिरेले आचारसहिंता उल्लङ्घन गरी अनुसन्धात्मक लेख प्रकाशित गर्ने अनुसन्धाकर्तालाई परिषद् ऐनअनुसार अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको जानकारी दिइन ।

परिषद्को ऐन २०७४ को दफा १० मा स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को (२) मा स्वीकृत नलिइ अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका शर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकि त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख गरिएको छ ।

परिषद्सँग स्वीकृत लिएर वार्षिक ८ सय भन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुसन्धान हुने गरेको पाइएको छ । परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित अध्ययन, अनुसन्धान परिषद्को आचारसहिंतामा बाँधिएर गर्नुपर्ने बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहदा परिषद्को स्वीकृत स्वीकृत लिनुपर्दछ र सर्त राखेर मात्र अध्ययन गर्न दिने बताए ।

परिषद्ले आचारसंहिताको पालना गरे नगरेकोबारे अनुगमन गर्न ‘आचारसहिंता पुनरावलोकन समिति’समेत गठन गरेको छ । समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यताअनुसार आचारसहिंता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले स्वास्थ्यलाई हानी हुन्छ कि हुदैन, स्वीकृत गर्ने र नगर्ने अधिकार रहेको परिषद्को मूल्याङ्कन शाखाप्रमुख घिमिरे बताएका छन् ।

यसैबीच परिषद्ले अनुसन्धानकर्ताको ‘परिचय पत्र’ बनाउने भएको छ । परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले परिचय पत्र बनाउनका लागि छलफल चलिरहेकोले चाँडै नै उपलब्ध गराउने बताएका छन् । कम्युटरमा खोल्ने वितिकै “अनुसन्धानकर्ताको परिचय तथा उसका सवै कामबारे जानकारी लिन सकिने भन्दै परिचय पत्रको आधारमा अनुसन्धानकर्ता नक्कली हो वा होइन तथा कुन तहको हो भन्ने कुरा सबै थाहा हुने जानकारी गराइएको छ ।