मुलुककै सबैभन्दा ठूलो र आधुनिक एकीकृत कृषि केन्द्र निर्माण हुने

काठमाडौँ । बुटवलमा मुलुककै आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने भएको छ । बुटवल १५ मा केन्द्र बनाइनेछ, प्रस्तावित जग्गामा स्थानीयले सहमति गरिसकेका छन् । यसअघि जग्गा उपलब्ध हुन नसक्दा नेपाल सरकार, नेदरल्यान्डस् सरकार र आएफिडिको लगानीको गौरवको आयोजना फिर्ता जाने सम्भावना बढेपछि स्थानीय जनप्रतिनिधिले चासो बढाएको हो ।

करिब २ अर्ब ३ करोड लागतमा मुलुककै सबैभन्दा ठूलो र आधुनिक केन्द्र बन्ने भएको छ । जग्गा प्राप्तिमा सर्वदलीय–सर्वपक्षीय र वन समितिको पनि सहमति जुटेसँगै सो आयोजनामा नेदरल्याण्डस्को दातृ निकायलाई लगानी गर्ने बाटो हो । स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगरपालिका वडा नम्बर १५ क्षेत्रमा जग्गा पहिचानको काम टुङ्गिएको हो ।

केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, विक्री वितरण र भण्डारण हुनेछ । ‘यो आधुनिक कृषि उपज केन्द्र हो, यहाँ चिस्यान केन्द्रदेखि फोहोर प्रशोधन गर्दै कम्पोस्ट मल बनाउने पूर्वाधारसमेत बनाउने कृषि मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले जानकारी गराएका छन् ।

दातृ निकाय र कृषि मन्त्रालयको दबावपछि बुटवल–१५ का वडाध्यक्ष शिव रानाले सर्वदलीय–सर्वपक्षीय भेलाबाट परियोजनालाई कर्साघाटको उत्तर–पूर्व तर्फको १८।७३ हेक्टर क्षेत्रफल रहेको जग्गा दिने सहमति जुटाएर वडाले निर्णयसहितको फाइल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयलाई बुझाएको बताएका छन् । वडाध्यक्ष रानाले भने यो परियोजना गौरवको आयोजना हो,यो कार्यान्वयनमा आउँदा स्थानीयलाई योग्यताका आधारमा रोजगारीमा प्राथमिकता दिनुपर्ने सुझाव आएको छ, यसलाइ सबैले स्वीकारेका छौं ।

कृषि उपज केन्द्रमा छुट्टै क्वारेन्टाइनको व्यवस्थाका सथै उत्पादित वस्तु विदेश पठाउन समेत सिफारिस दिने केन्द्रभित्र विभिन्न ६ वटा गोदाम घर बन्ने भएको छ । एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाममा ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहित गोदाम घर बनाउने वडा अध्यक्ष रानाको भनाइ रहेको छ । खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने र पशुजन्य उत्पादन विक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बनाउने बताए ।

कृषि मन्त्रालयका सचिव शर्माका अनुसार बुटवलको पुरानो बसपार्कमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र साँघुरो र बजारभित्र भएकाले बुटवल वडा नंं.१५ कर्साघाटमा सङ्घीय सरकारको कृषि मन्त्रालयले एकीकृत थोक कृषि बजार बनाउने प्रक्रिया अघि बढाएको बताए ।

सरकारी निकायबाट सोजग्गा लिजमा लिने प्रक्रिया पूरा गरेर वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन डीपीआरको काम अघि बढाइने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिएका छन् ।