प्रहरी कार्यालय घोराहीमा राज्यमन्त्री वलीमाथि अनुसन्धान हुँदै

काठमाडौँ । दाङको तुलसीपुरमा महिला र बालिकालाई कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी वलीलाई थप अनुसन्धानका लागि दिउँसो जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको जानकारी गराएको छ । राज्यमन्त्री वलीले मंगलबार विहान तुलसीपुर ५ आलुमण्डीस्थित एकराज बस्नेतीका श्रीमति र छोरीलाई हातपात गरेको आरोपमा विहान पक्राउ गरेको थियो ।

डिएसपी नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालयमा अहिले डिएपसी नरहेकाले थप अनुसन्धानका लागि राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएको छ ।

प्रहरी प्रमुख काफ्लेकाअनुसार राज्यमन्त्री वलीले हातपात गरेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइने बताएका छन् । राज्यमन्त्री वली नेकपा एमाले लुम्बिनी प्रदेशका सांसद स्व. उत्तरकुमार वलीकी श्रीमती हुन् ।