पहिरोपीडितलाई उद्धार गरी राहत दिन सांसद भट्टराईको माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा विशेष समय माग गर्दै उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको जानकारी गराएका छन् ।

सांसद भट्टराईले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । ताप्लेजुङमा बाढी पहिराको प्रकोपले जनजीवन त्रसित बनाएको हुँदा पीडितको राहत र उद्धारका साथै काजकिरियाका लागि आवश्यक सहयोग र उपचारका लागि व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका हुन् । पहिराका कारण विद्युत्, टेलिफोन र यातायात अवरुद्ध भएको र सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन् ।