अविरल वर्षाका कारण बेँसीसहर चामे सडक अवरुद्ध

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले जानकारी गराएको छ ।

हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो । खरखरेमा मस्र्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ ।

हाल सवारी सञ्चालन हुँदै आए पनि बर्सेनि बर्खायाममा पटक–पटक विभिन्न स्थानमा पहिरो जाँदा सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ । तल मस्र्याङ्दी नदी र माथि भिरैभिर हुँदै बीचमा साँघुरो सडकमा सवारी सञ्चालन हुँदै आएको छ । इञ्जीनियर अधिकारीका अनुसार यस सडकबाहेक डुम्रे–बेँसीसहर सडक भासिएको छ भने तनहुँमा समेत पहिराले यस सडक अवरुद्ध भइरहेको जानकारी दिइएका छन् ।