हिमालयन हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १ सय अङ्कित मूल्यका दरले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँट भएको छ । बाँकी ६ लाख १८ हजार २ सय ५० कित्तासहित कूल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।

कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये ३९ हजार ३ सय ६५ कित्ता कर्मचारीहरु र ९८ हजार ४ सय १३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । त्यसमा बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता शेयरमा सर्वसाधारणले असार १९ सम्म आवेदन दिन पाउने र निष्कासनबमोजिम माग नआए ढिलोमा असार २९ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीले कास्कीको मादी गाउँपालिकामा रहेको मादी नदीको बहाव प्रयोग गरेर ११.८८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी– आइआर बी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।