तीनमहिनामा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु

काठमाडौँ । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा सवारी साधन दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापर्बाहीका कारण दुर्घटनासमेत बढ्दो क्रममा रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत चैत, वैशाख र जेठ महिनामा १ सय ४१ दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको हो । सबैभन्दा धेरै चैत महिनामा १६ जनाको मृत्यु भएको छ । सो महिनामा ३७ दुर्घटना भएका थिए । ती दुर्घटनामा परेर १ सय १५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताएका छन् ।  

जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रमुख अधिकारीको भनाइ छ । ती दुर्घटनामा परेर ९१ घाइते भएका छन् । गत वैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटना भएका छन् तर यस दुर्घटनामा मृतकको सङ्ख्या घटेर ८ जना मात्रै रहेको छ । उक्त महिनामा १ सय १५ जना घाइते भएका थिए ।

अधिकारीले क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही गर्दै आइरहेको भन्दै स्वयं चालक सचेत नभएसम्म समस्या बल्झिरहने बताए । तीव्र गति र सिट क्षमताभन्दा धेरै यात्रुका कारण पनि दुर्घटना बढेको देखिन्छ”, प्रहरी निरीक्षक अधिकारीले भने । न्यूनीकरणका लागि हामीले जनचेतना जगाउने काम पनि गर्दै आइरहेका छौँ ।

कार्यालयका अनुसार पछिल्लो तीन महिनामै ८ हजार २ सय ६४ सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । यसअनुसार गत चैतमा २ हजार ५ सय २६, वैशाखमा २ हजार ५ सय २८ र जेठ महिनामा ३ हजार २ सय १० सवारी साधनलाई कारबाही गरिएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको छ ।

कारबाहीबापत ट्राफिक प्रहरीले राजस्वसमेत उठाउँदै आइरहेको छ । तीन महिनामै कार्यालयले कारबाहीबापत रु ७६ लाख ४९ हजार ५ सय राजस्व सङ्कलन गर्न सफल भएको जनाइएको छ । सबैभन्दा धेरै गत जेठमा रु ३० लाख ५ हजार, वैशाखमा रु २३ लाख ३९ हजार ५ सय र चैतमा रु २३ लाख ९ हजार ५ सय राजस्व सङ्कलन गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।