जेठ मसान्तसम्ममा पूर्वी नाकाबाट ४६ करोडको फलफूल आयात

काठमाडौँ । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जानकारी गराएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको ८ हजार २ सय ३६ मेट्रिक टन फलफूल आयात भएको हो ।

आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र रु १२ लाख राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । उनका अनुसार २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको ४ हजार ६ सय ४५ मेट्रिक टन स्याउ आयात भएको छ । यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र ४ करोड ५१ लाख १० हजार बराबरको १ हजार ८ सय ७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी रु १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, रु ७९ लाख ५१ हजारको नरिवल, रु ६७ लाख ७० हजार जुनार, रु ४९ लाख ४९ हजारको आप, रु २ करोड ९७ लाखको अनार, रु ७७ लाख ६१ हजारको अङ्गुर, रु एक करोड ७८ लाख ७८ हजारको सुन्तला, रु ३६ लाख ७३ हजारको नास्पति, रु पाँच लाख ९८ हजारको अम्बा, रु ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।